नेपालमा मात्रै नभइ बिश्वभर नै कोरोनाले आक्रान्त बनाएको पनि लामो समय भइसकेको छ । पहिलो, दोश्रो हुँदै तेश्रो र चौंथोसम्मको लहर आएको कुरा सुनिन थालिएको छ । कोरोनाले गर्दा नागरिकहरुको दैनिकी पनि धेरै प्रभावित भएको छ यद्यपि अब सँधै कोरोना भनेर मुलुकलाई ठप्प बनाइ रहदा पनि यसले फाइदा गर्दैन ।
अब यसका लागि दीर्धकालिन सोच र नीति बनाउन आवश्यक देखिन्छ । नेपाल यो बिषयमा पछाडि नै परेको छ । तेश्रो लहरका हिसावले सबैभन्दा बढी उच्च जोखिममा सीमा क्षेत्रका नागरिकहरु नै पर्ने हो किनभने पहिलो र दोश्रो लहरमा पनि यहीका नागरिकहरुले ठूलो सास्ति झेल्न परेको थियो र ठूलो मानवीय क्षति समेत ब्यहोर्न परेको छ ।
यो हिसावले यस क्षेत्रको सबैभन्दा ठूलो अस्पताल भनेको नारायणी नै हो । त्यसैले सबैभन्दा पहिला नारायणी अस्पतालका सवालमा सोच्न आवश्यक छ । नारायणी अस्पताललाई व्यवस्थित बनाउन आवश्यक छ । तयारीमा जुट्न ढिला गरेको खण्डमा फेरि पनि यहाँ थेग्न धेरै समस्या हुनेछ । त्यसैले आजैबाट यो अभियानमा जुट्नका लागि ढिला नगरौं ।