वीरगञ्ज,नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र रौतहटका किसानहरूलाई धान रोपाइँमा गम्भीर समस्या परेको छ ।नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार गण्डक नहरमा हाल औसतमा ५५० क्युसेक मात्र पानी आइरहेको छ, जबकि सम्झौताले ८५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

कार्यालयका प्रमुख मनोजकुमार पटेलले असार १३ गतेदेखि नै औसतभन्दा कम पानी आइरहेको र असार १९ देखि २३ गतेसम्म मात्र सम्झौताअनुरूपको पानी आएको बताउनुभएको छ । सूचना अधिकारी इञ्जिनियर सुरेश साहले भारतीय दोन शाखा नहर प्रमुख महेन्द्र चौधरीलाई टेलिफोनमार्फत औपचारिक रूपमा जानकारी गराएर सम्झौताको पूर्ण कार्यान्वयन गर्न आग्रह गरिएको बताउनुभएको छ ।हाल नहरको ८ नम्बर ब्लक अर्थात् बाराको पसाहा खोला क्षेत्रसम्म मात्र पानी पुग्न सकेको छ । सिँचाइ कार्यालयको प्राविधिक टोलीले जगरनाथपुरदेखि रौतहटको बागमती खोला क्षेत्रसम्म निरीक्षण गरी पानी प्रवाहका लागि प्रयास गरिरहेको जानकारी दिइएको छ ।गण्डक नहर प्रणालीबाट पर्सा, बारा र रौतहटका ३७ हजार ४ सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य राखिएको भए पनि हरेक वर्ष भारतले कुनै न कुनै बहानामा सम्झौताअनुसार पानी नदिने गरेको किसानहरूको गुनासो छ ।

Leave a Reply