काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो ३ हजार ४२२ मिटरको महादेवटार सुरुङको ब्रेकथ्रु भएको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले सुरुङको ब्रेकथ्रु गरेका हुन्।

नेपाली सेनाका अनुसार द्रुतमार्ग निर्माणको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। आयोजनाअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो।

करिब ७३ किलोमिटर लामो द्रुतमार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं र तराई–मधेशबीचको यात्रा दूरी तथा समय घट्ने, इन्धन र यातायात खर्च बचत हुने अपेक्षा गरिएको छ।

राष्ट्रपति पौडेलले द्रुतमार्गले यातायात, व्यापार, पर्यटन र समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

यद्यपि, ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा करिब ६।५ किलोमिटर सडक खण्डको जग्गा विवाद अझै समाधान हुन सकेको छैन। नेपाली सेनाले विवाद समाधानपछि उक्त खण्डको निर्माण अघि बढाउने जनाएको छ।

Leave a Reply