काठमाडौं, १ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने परिस्थिति आउन सक्ने बताएका हुन्।

उनले आन्दोलनका लागि सधैँ लामो तयारी आवश्यक नपर्ने उल्लेख गर्दै असह्य अवस्था सिर्जना भएपछि तत्काल आन्दोलन सुरु हुन सक्ने बताए। त्यसैले नेता तथा कार्यकर्तालाई आन्दोलनको मानसिकतासहित तयार रहन उनको निर्देशन थियो।

ओलीले आतंकपूर्ण वातावरण र गतिविधिका कारण आफूहरू केही पछाडि धकेलिएको भए पनि त्यस्तो अवस्था सधैँ कायम नरहने दाबी गरे। आत्मविश्वास र उच्च मनोबलका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले चुनावमार्फत पार्टी निर्माण गर्न खोज्नेहरूलाई आगामी निर्वाचनमा पार्टीकै शक्तिका आधारमा पराजित गर्ने गरी अघि बढ्ने बताए।

यसैगरी, अध्यक्ष ओलीले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति असन्तुष्टि व्यक्त गरे। उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले अहिलेसम्म फैसला गर्न नसकेको भन्दै न्याय प्राप्तिमा भएको ढिलाइप्रति प्रश्न उठाए।

‘समयमा न्याय प्राप्त नहुनु र ढिलो न्याय प्राप्त हुनु भनेको न्याय प्राप्त नहुनुजस्तै हो,’ ओलीको भनाइ थियो। अदालतका विषयमा धेरै बोल्दा आफूमाथि मानहानिको मुद्दा लाग्न सक्ने भन्दै उनले यसबारे थप टिप्पणी नगर्ने बताए।

अध्यक्ष ओलीले आगामी दिनमा जनताको घरदैलोमा पुग्न, किसान तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्न र पार्टी संगठनलाई थप सशक्त बनाउन पनि नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। एमालेले आफूलाई देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

Leave a Reply