राजन कुमार बानिया
पोखरिया, २७ साउन– तस्करलाईमात्र भारतबाट मल ल्याउन दिएको भन्दै विरोधमा उत्रेका पकहामैनपुरका स्थानीय र सशस्त्र प्रहरी मंगलबार बीच झडप भएको छ ।
किसानलाई एक बोरा पनि मल ल्याउन नदिने र तस्करलाई मात्र मल ल्याउन दिएपछि सो क्षेत्रका किसानहरु आक्रोसित भएका थिए । सबैठवा नाकाबाट प्रहरीले पैसा लिएर मल तस्करी गराएको भिडियो बनाएर सार्वजनिक गरेपछि सशस्त्रका जवानले स्थानीयमाथि कुटपिट गरेका थिए । स्थानीयमाथि कुटपिट भएपछि आक्रोसित बनेका स्थानीय प्रहरीमामाथि जाइलागेका हुन् ।
स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक टिकाराम गौतम घाइते भएका छन् । स्थानीयले सशस्त्र प्रहरीको चेक पोष्ट बिटमा पनि तोडफोड गरेका छन् । केही दिनदेखि सशस्त्र प्रहरीले पैसा लिएर तस्करहरुलाई भारतबाट मल तस्करी गर्न दिइरहेको समाचार बाहिर आएको थियो ।
प्रहरीले रोक लगाएपछि मल अभावमा यस क्षेत्रका सर्वसाधारण किसानले तस्करले ल्याएको मल चर्को मूल्यमा किन्नु पर्ने बाध्यता सृजना भएको छ ।