काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई जिम्मेवारीमा फर्किन नदिने चेतावनी दिएका छन्।

हिमालय टेलिभिजनसँगको कुराकानीमा सहप्रवक्ता चौधरीले अदालतबाट कार्कीको पक्षमा फैसला आए पनि उनलाई आईजीपीका रूपमा काम गर्न नदिने बताएका हुन्।

‘म तपाईंलाई यत्ति भन्छु : अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गर्‍यो भने पनि आईजीपी बन्नुहुन्न। त्यस्तो मान्छेलाई राख्नै हुन्न नि अब,’ चौधरीले भने।

उनले कार्कीको नेतृत्वमा प्रहरी संगठन सञ्चालन हुन नसक्ने दाबीसमेत गरे। साथै, उनलाई पुनः पुरानै जिम्मेवारीमा फर्किन नदिन सरकारले अन्य वैधानिक विकल्प खोज्न सक्ने संकेत पनि उनले गरेका छन्।

सरकारले नयाँ पद सिर्जना गर्दै कार्कीलाई आईजीपी पदबाट हटाएपछि उनी पुनर्बहालीको मागसहित सर्वोच्च अदालत पुगेका छन्। कार्कीले आफ्नो पदमुक्तिको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन्।

उक्त रिटमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने तयारी गरेको छ।

कार्कीले २० कात्तिकमा रिट दर्ता गराएका थिए। सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकमा सुनुवाइको मिति तोकेको भए पनि सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएका कारण सुनुवाइ सरेको थियो।

Leave a Reply