जनकपुरधाम,इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणमा परी निधन भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका –४, सपहीका २२ वर्षीय आनन्द साहको शव माग गर्दै धनुषाको सपहीमा चक्काजाम गरिएको छ ।शवको माग गर्दै आक्रोशित स्थानीयवासीले सोमबार बिहान ९ बजेदेखि ढल्केबर–जनकपुर सडकखण्डको सपही चोकमा चक्काजाम गरेका छन् । स्थानीयवासीले मोटरसाइकल र एम्बुलेन्सलगायत अति आवश्यक सावरीबाहेक अरु सवारी चल्न दिएका थिएनन ।स्थानीयका अनुसार इजरायलमा विद्रोही समूको आक्रमणबाट मृत्यु भएका साहको शव ल्याउन नेपाल सरकारसँग माग गर्दै चक्काजाम गरिएको हो । उहाँहरुले शव ल्याउने निश्चित नभएसम्म चक्काजाम नखोलिने जानकारी दिनुभएको छ ।मृतक साह गत भदौ २६ गते कृषिसम्बन्धी तालिम लिनका लागि इजरायल जानुभएको थियो ।यसैबीच इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले मंगलवार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मंगलवारको लागि राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।यस्तै बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई विमान पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले परराष्ट्र मन्त्रालयमार्फत इजराजयल सरकारसँग समन्वय गरी ज्यान गुमाएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउने पनि निर्णय गरेको छ ।उता, इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका सात जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप जनही दुई लाखका दरले रकम प्रदान गर्ने निर्णय गरेको छ ।सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिाजे एक विज्ञप्ति जारी गर्दै विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरुका परिवारलाई राहत स्वरुप दुई÷दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले हस्ताक्षर गर्नु भएको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरिएको छ ।इजरायलमा आतंकवादी समूह हमासले गरेको हमलामा परी आइतवार १० जना नेपालीको ज्यान गएको थियो । जसमध्ये सात जना सुदूरपश्चिमका विद्यार्थी रहेका छन् ।


















