गुल्मी । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंसिर १ गते बिहान प्रहरी अधिकृत निवासको कोठामा अचेत अवस्थामा भेटिएका थिए।
बिहान साढे ९ बजेसम्म पनि कोठाबाट बाहिर ननिस्किएपछि सहकर्मीले ढोका खोलेर हेर्दा उनी ओछ्यानमै अचेत अवस्थामा भेटिएका थिए। तत्काल जिल्ला अस्पताल तम्घास पुर्याइएका उनलाई चिकित्सकले बिहान ११ः०५ बजे मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका दाजुले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धान तथा शव परीक्षणसम्बन्धी प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाएको जनाएको छ।
केसीको दाङको घोराहीस्थित नारायणपुरमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















