काठमाडौं, १ मंसिर। छठ पर्वपछि खुलेको नेपालको सेयर बजार पहिलो दिनमै दोहोरो अंकले घटेको छ। सोमबार नेप्से परिसूचक १२.७९ अंकले ओरालो लाग्दै २ हजार ६३६ अंकमा झरेको हो।

बजारमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढेको छ भने १८५ वटाको घटेको छ। त्यस्तै, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन। कारोबारको अधिकांश समय बजारमा बिक्रीको चाप देखिएको थियो।

आज अधिकांश समूहगत सूचकसमेत राताम्मे बनेका छन्। बैंकिङ समूह ०.४७, विकास बैंक ०.८४, फाइनान्स ०.५५, होटल तथा पर्यटन १.२१, जलविद्युत् ०.३१ र लगानी समूह ०.२७ प्रतिशतले घटेका छन्।

त्यसैगरी, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.११, लघुवित्त ०.६०, निर्जीवन बीमा ०.६९, अन्य समूह ०.५८ र व्यापार समूह ०.०२ प्रतिशतले ओरालो लागेका छन्।

कारोबार भएका कम्पनीमध्ये अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशतले बढेको छ। सेन्ट्रल फाइनान्सको ६ प्रतिशत, अपोलो हाइड्रोपावरको ५.६५ प्रतिशत, माउन्ट एभरेस्ट पावरको ५.५० प्रतिशत र सानीगढ हाइड्रोको ३.८० प्रतिशतले मूल्य वृद्धि भएको छ।

यता, एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.३६ प्रतिशतले घटेको छ। सीवाईसी लघुवित्तको ४.८६, विजय लघुवित्तको ४.४९, बेनी हाइड्रोपावरको ४.१२ र स्वस्तिक लघुवित्तको ३.६६ प्रतिशतले मूल्य घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ। त्यसपछि सेन्ट्रल फाइनान्स, सानिमा माई हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स पावर, श्वेतगंगा हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन्।

Leave a Reply