काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्ष २०८२-८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवंम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवारको सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको आय–व्ययको अनुमान पेश गर्नुभएको हो ।आउँदो आर्थिक वर्षको बजेटमा चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २० दशमलव ८ प्रतिशत र वित्तीय व्यवस्थापमा ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव १ प्रतिशत विनियोजन भएको छ ।

आउँदो आर्थिक वर्षको व्ययको अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा ५ दशमलव ६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव २ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र पालिकाका लागि वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।आउँदो आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ उठाइने अनुमान गरिएको छ । बाँकी ५ खर्ब ९५ अर्ब ६६ अर्ब रुपैयाँ बराबर न्यून हुनेछ । त्यसका लागि आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब र बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ व्यहोरिने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
निजगढ विमानस्थल निर्माण गरिने
निजगढ,सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने जनाएको छ । बिहीवार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रिया अघि बढाइने बताउनुभयो ।यस्तै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा स्तरोन्नति गर्ने भएको छ । यसका लागि आउँदो आर्थिक वर्षमा ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन भएको छ ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेटमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गर्नका लागि बुटिक विमानस्थलका रूपमा विकास गरिने उल्लेख छ ।सरकारले आर्थिक वर्ष २०८२-८३ का लागि पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गरिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकहरूका लागि किफायती हुनेगरी विमानस्थल परिसरमा आवसीय सुविधा उपलब्ध गराइने उल्लेख छ । साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइनेछ ।
नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायु सेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न विशेष सहुलियत दिइनेछ ।

त्यसैगरी झापाको भद्रपुर, दाङको टरिगाउँ, ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिने उहाँले जनाउनुभयो । सुर्खेतमा प्रादेशिक विमानस्थलको प्रक्रिया थालिनेछ । आन्तरिक विमानस्थलको पूर्वाधारका लागि ५० करोड विनियोजन गरिएको छ ।
२ वर्षभित्र द्रुतमार्ग निर्माण सम्पन्न गरिने
काठमाण्डौं,बजेटमा काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माण कार्य आर्थिक वर्ष २०८३÷८४ भित्र सम्पन्न गरिनेछ जनाइएको छ ।द्रुतमार्ग आयोजनाको लागि आगामी वर्ष ३७ किलोमिटर सडकमा सबबेस, चार किलोमिटर सुरुङ र ६० पुल निर्माण गरिने मन्त्री पौडेलले बजेटमा उल्लेख गर्नुभएको छ ।यसका लागि रु २४ अर्ब ४९ करोड विनियोजन गरिएको छ ।” बजेट वक्तव्यमार्फत मन्त्री पौडेलले भन्नुभयो ।त्यसैगरी काठमाडौँ–तराई मधेश द्रुत मार्गमा पर्ने तीनवटा सुरुङ मार्ग निर्माण सम्पन्न गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।“पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्डलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइनेछ । आगामी आर्थिक वर्षमा आँबुखैरेनी–पोखरा सडक खण्ड चार लेनमा स्तरोन्नति कार्य सम्पन्न गरिनेछ । यसका लागि आठ अर्ब ५२ करोड विनियोजन गरिएको छ ।”

Leave a Reply