सिमरा,मधेश प्रदेशका भूमि, व्यवस्था तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले जनताले दुःख गरेर बचत गरेको रकम अपचलन गर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दै मन्त्री सिंहले राज्यको जुनसुकै तहमा रहेका व्यक्ति भएपनि सहकारी ठगीमा संलग्न रहेको प्रमाणित भए कारवाही गर्नुपर्ने बताउनुभएको हो ।

‘जनताले दुःख गरेर जम्मा गरेको अपचलन ठगी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ । त्यस्ता व्यक्तिलाई छोड्नु हुँदैन’ मन्त्री सिंहले भन्नुभयो, ‘ति मान्छे मन्त्री भएका व्यक्ति हुन् वा राजनीतिक दलको माथिल्लो ओहदाका व्यक्ति हुन् । कानुनी दायरामा ल्याउनुपर्छ ।’सहकारी ठगीका घटनाले यस क्षेत्रमाथि जनविश्वास घट्ने खतरा रहेको भन्दै मन्त्री सिंहले छुट पाउने गरी कसैको देवत्वकरण नगर्न समेत आग्रह गर्नुभयो । मन्त्री सिंहले सहकारी संस्थालाई व्यवस्थित ढंगले संचालन गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

प्रदेशभित्रका सहकारी संस्थालाई नियमन, व्यवस्थित गर्नका लागि प्रदेशमा ऐन निर्माण भएको बताउँदै मन्त्री सिंहले कर्मचारी व्यवस्थापन गरेर अन्य काम अघि बढाइने बताउनुभयो । उहाँले संघीय सरकारले उपलब्ध गराएको आठ सय सहकारी संख्यामध्ये दुई सय ५० मात्रै सम्पर्कमा आएको बताउँदै अब सम्पर्कमा नआउने सहकारीलाई खारेज गरेर अघि बढ्ने बताउनुभयो ।कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले सहकारी क्षेत्रको उचित व्यवस्थापनका लागि मन्त्री सिंह र जीतपुरसिमरा नगर प्रमुख राजन पौडेल आग्रह गर्नुभयो । यसैगरी उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल सहकारी क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको भन्दै मन्त्री सिंहको ध्यानाकर्षण गराउनुभएको थियो ।

Leave a Reply