निजगढ – जंगलमा हराएको राँगो खोज्न घरबाट निस्किएका जीतपुरसिमरा उपमहानगरपालिका– १६ टाँगियाबस्तीका ५५ वर्षीय गुरु फुयाल भन्ने रेवती फुयाल आज बिहान मृत अवस्थामा फेला परेका छन । पाडो (राँगा) खोज्न शनिवार बिहान जंगल गएका फुयालको शव आज बिहान कोल्हबी नगरपालिका ६ को काँटघाटस्थित सहजनाथ महादेव मन्दिरको दक्षिर्णतर्फको जंगलमा बिहान १०ः३० बजे फेला परेको इलका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम खनालले जानकारी दिनुभयो ।
आफन्त, छिमेकी र प्रहरी सहितको टोलीले फुयालको शव फेला पारेको हो । हराएको भनिएको राँगो भने सोही साँझ आफै घरमा आइपुगेको थियो । प्रहरीका अनुसार जंगलमा चराउन लगेको पाडो शुक्रवार साँझ हराएपछि फुयाल भोलिपल्ट बिहान करिब ५ः३० बजे खोजीको लागि जंगलतर्फ गएका थिए । आफन्तले घटनाबारे शनिबार साँझ नै इलाका प्रहरी कार्यालय निजगढमा जानकारी गराएपछि १० जना प्रहरीसहितको टोलीले फुयालको खोजी सुरु गरेको थियो ।















