काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। एकैदिन तोलामा १ हजार ९ सय रुपैयाँले घटेसँगै सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ थियो। मंगलबारको गिरावटसँगै सुनको मूल्य थप ओरालो लागेको हो।
पछिल्लो मूल्य घट्ने क्रमसँगै तिहारयता सुन प्रतितोला १७ हजार १ सय रुपैयाँले सस्तिएको छ। तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ५ सय २० रुपैयाँ रहेको थियो।















