वीरगञ्ज, १ मंसिर। वीरगञ्जको छठघाटमा चर्को आवाजमा डीजे बजाएर होडबाजी गर्दै सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले पाँच जना युवकलाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका–१७ कोनिया र वडा नम्बर १९ बर्वास्थित तिलावे नदीको दुवैतर्फ निर्माण गरिएका छुट्टाछुट्टै छठघाटमा गत आइतबार साँझ चर्को आवाजमा डीजे बजाएर प्रतिस्पर्धा गरिएको थियो। सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार बिहान पाँच जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ का २२ वर्षीय रोशन पटेल र २५ वर्षीय चन्दन पटेल, वडा नम्बर १० का पृथ्वी कार्की, बाराको प्रसौनी गाउँपालिका–३ का ३५ वर्षीय दिनेश पटेल तथा वडा नम्बर २ का २८ वर्षीय मन्जुर हवारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार दुवै छठघाटमा डीजे जडान गर्ने कम्पनीका सञ्चालक तथा कर्मचारीलाई छठघाटबाटै पक्राउ गरिएको हो। प्रहरीले दुवै स्थानमा जडान गरिएका डीजे सेटसमेत जफत गरेको छ।
सार्वजनिकस्थलमा चर्को आवाजमा डीजे बजाएर अशान्ति फैलाउने, ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखी कानुनबमोजिम म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी मल्लले जानकारी दिए।
कोनिया र बर्वास्थित यी दुई छठघाटबीच गत वर्षको छठ पर्वमा पनि चर्को आवाजमा डीजे बजाउने विषयमा होडबाजी भएको थियो। यस वर्ष पनि उस्तै गतिविधि दोहोरिएपछि प्रहरीले कारबाही अघि बढाएको हो।

















