वीरगञ्ज,वीरगञ्जमा आफ्नै १४ वर्षीय नाबालिग छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका – १४ चिनिमिल आवास क्षेत्र निवासी हाल सेक्युरिटी गार्डको रूपमा कार्यरत रहेको व्यक्तिले आफ्नै १४ वर्षीय नाबालिग छोरीमाथि जबरजस्ती करणी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार, पक्राउ परेका व्यक्तिले आफ्नी जेठी श्रीमतीपट्टिको १४ वर्षीय नाबालिग छोरीलाई आफ्नै कोठामा पटक–पटक जबरजस्ती करणी गरेको खुलासा भएको छ । पीडित बालिकालाई कोही कसैलाई घटनाबारे बताएमा उनले ज्यान मार्ने धम्कीसमेत दिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे पीडित बालिकाकी आमाले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएकी थिइन् । जाहेरीमा उल्लेख भएअनुसार, आरोपितले आफ्नै कोठामा बालिकामाथि जबरजस्ती करणी गरेको र विगतमा पनि यस्ता घटना दोहोरिएको उल्लेख छ ।जाहेरीका आधारमा प्रहरीले तत्काल कारबाही अगाडि बढाउँदै आरोपितलाई निजकै कोठाबाट नियन्त्रणमा लिएको डिएसपी लम्सालले जानकारी दिनुभयो ।पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी लम्सालले बताउनुभयो । आरोपितमाथि नेपालको मुलुकी अपराध संहिता, २०७४ को जबरजस्ती करणीसम्बन्धी दफा अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

 

Leave a Reply