निजगढ,बाराको कलैयामा रहेको सरकारी वकीलको कार्यालयमा हुने सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ ।
कार्यालय प्रमुख कैलाश खत्रीले जिम्मेवारी सम्हालेपछि कार्यालयबाट प्रदान हुने सेवामा सुधार देखिन थालेको हो । विगतमा सर्वसाधारणले सहजै भेट्न नपाउने यस कार्यालयका प्रमुखसंग अहिले सेवाग्राहीहरूले प्रतक्ष्य भेटेर परामर्श सेवासमेत लिने गरेका छन । कार्यालयले सेवाग्राहीलाई लक्षित गरेर जिल्लाका गाउँगाउँमा नियमित रुपमा कानुनी परामर्श सेवा संचालन गर्न थालेपछि सर्वसाधारण खुसी बनेकाछन ।
यसअघि खानेपानीको अभाव र अव्यवस्थित शौचालयका कारण कार्यालयमा सेवा लिन आएका सर्वसाधारण अनेत्र जानुपर्ने बाध्यता रहेकोमा अहिले कार्यालयले सेवाग्राहीका निम्ति प्रतिक्षालय, शौचालय र खानेपानीको सुविधाको समेत व्यवस्था गरेको छ ।‘केही वर्षअघिसम्म कार्यालयबाट प्रदान गरिने सेवा र भौतिक संरचना पनि त्यति व्यवस्थित थिएन, निजगढका सेवाग्राही कृष्ण लामाले भन्नुभयो, अहिले सेवासंगै कार्यालयको भौतिक संरचना पनि सुधार आएको छ ।’
प्रभावकारी सेवाको लागि कार्यालयमा सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न भौतिक संरचनामा पनि सुधार गरिएको कार्यालय प्रमुख खत्रीले बताउनुभयो । उहाँले मधेस प्रदेश सरकार र जिल्लाका स्थानीय पालिकाहरुसंग समन्वय गरेर थुनुवा कक्षसहित, शौचालय, प्रतिक्षालय र कार्यालयको कम्पाउण्ड वाल जस्ता संरचना तयार पारिएको जानकारी दिनुभयो । जिल्लाको जीतपुरसिमरा, महागढीमाई जस्ता पालिकाले कार्यालयको भौतिकपूर्वाधार निर्माणमा सहयोग गरेको उहाँले बताउनुभयो ।
‘काम नपरी कार्यालयमा कोही पनि आउदैनन्, सरकारी वकील खत्रीले भन्नुभयो, समस्यामा परेर आएका सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम गर्ने गरेका छौं ।’ उहाँले त्यसको लागि आवश्यक भौतिक पुर्वाधार निमार्ण गरिएको पनि बताउनुभयो ।हाल भवनको चार किल्लामा पर्खाल, गेट र डिजिटल डिसप्ले वोर्ड निमाण सम्पन्न भएको छ । यस्तै सेवाग्राहीको निम्ति खानेपानी, अधुनिक र अपाङ्ग मैत्री शौचालयको समेत व्यवस्था गरिएको छ ।
कार्यालयले पीडित पक्षलाई यथासक्य चाढो न्याय दिने गरी काम गर्ने गरेको पनि प्रमुख खत्रीले बताउनुभएको छ । यसको लागि समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरिएको त्यसको प्रभावमा धेरै पीडितले न्याय पाएको उहाँले बताउनुभयो ।
सरकारी कार्यालयको काम कारबाहीलाई व्यवस्थित गरी नागरिकलाई सहज र सुभल रुपमा सेवा प्रवाह गर्ने वातावरण सृजना गर्न आफूले ध्यान दिदैआएको कार्यालय प्रमुख खत्रीको भनाई छ । उहाँले महिला र बालबालिकाको निम्ति विशेष रुपमा काम गर्ने गरेको पनि जानकारी दिनुभयो ।त्यस्तै गुणस्तरीय सेवाको लागि कार्यलयमा अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको सुविधा हुनुपर्ने उहाँले बताउनुभयो । हाल अव्यवस्थित अभिलेखालयलाई व्यवस्थित बनाउने कार्य समेत शुरु गरिएको उहाँले सुनाउनुभयो । ‘पुराना शैलीमा हातमा लेखिएका मुद्दा हराउने, ढड्ड्मा फेला पार्न समय लाग्ने, नागरिकले भनेकै समयमा सेवा प्रवाह गर्न ढिलाई हुने गरेको छ, उहाँले भन्नुभयो, छिटो छरितो सेवा प्रवाह गर्न तथा अभिलेखलाई चुस्त पार्न अनलाईन प्रणाली समेत शुरु गरिएको छ ।’



















