सिमरा,राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा एक करोड ६६ लाख भन्दाबढी राजस्व सङ्कलन गरेको छ ।राजस्व छलीको आशङ्कामा विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा निकायबाट नियन्त्रणमा लिएर बुझाइएका सवारी साधन तथा फार्ममाथि कारबाही गरी कार्यालयले चालु आवको फागुन मसान्तसम्ममा सो राजस्व रकम सङ्कलन गरेको हो ।
कार्यालयका सूचना अधिकारी प्रमोदकुमार चौधरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी अन्तर्गतका विभिन्न कार्यालयबाट नियन्त्रणमा लिई कारबाहीका लागि सो अवधिमा बुझाइएका ३ सय ४ फार्म तथा सवारी साधनमाथि कारबाही गरी राजस्व सङ्कलन गरिएको छ ।उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय बारा र माताहातका कार्यालयबाट बुझाइएका एक सय ७२ फार्म तथा सवारी साधनमाथि गरिएको कारबाहीबाट सबैभन्दा बढी ५९ लाख १६ हजार ५० राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र त्यस अन्तर्गतका कार्यालयबाट कारबाहीका लागि आएका फार्म तथा सवारी साधनबाट २९ लाख ५६ हजार पाँच सय ६०, मकवानपुर अन्तर्गतका कार्यालयबाट १८ लाख ७९ हजार आठ सय ४८, जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीबाट नियन्त्रणमा लिइएको दुई–दुईवटा सवारी साधनबाट ७५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल पर्सा वा अन्तर्गतबाट आएको १९ वटा सवारी साधनबाट ३७ लाख ८० हजार, बारा अन्तर्गत नियन्त्रणमा लिइएका ११ सवारी साधनबाट १५ लाख सात हजार छ सय ७२, मकवानपुरबाट आएका १५ वटा सवारी साधन तथा फार्मबाट रु दुई लाख र सशस्त्र प्रहरी बल धनुषा वा अन्तर्गतबाट प्राप्त दुई सवारी साधनबाट रु ५० हजार राजस्व सङ्कलन भएको उहाँको भनाई छ ।


















