काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी पदमा नियुक्त भएको आरोपमा बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओमप्रकाश गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार हदैसम्मको कैद र जरिवानाको मागदाबी गरेको हो।

गिरी २०७८ जेठ १ गतेदेखि फेटा गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को रोजगार संयोजक पदमा नियुक्त भएका थिए।

उक्त पदमा नियुक्ति हुन उनले पेस गरेको तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा अर्कै व्यक्तिको नाममा रहेको पुष्टि भएको अख्तियारले जनाएको छ।

गिरीको प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यता नक्कली रहेको भन्दै उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा वास्तविक शैक्षिक योग्यता लुकाएर झुट्टा प्रमाणपत्र पेस गरी सरकारी ओहदा प्राप्त गरेको देखिएको आयोगको निष्कर्ष छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कसुर कायम गरी सोही कानुनी व्यवस्थाअनुसार कैद तथा जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

Leave a Reply