सर्लाही। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित भ्रामक सूचना फैलाएको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४ गडहिया टोलका ३२ वर्षीय आलम बैठा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे वास्तविकताभन्दा फरक र भ्रामक सूचना प्रकाशन तथा प्रसारण गरी सर्वसाधारणमा भ्रम सिर्जना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीको कामकारबाहीप्रति अनावश्यक भ्रम र अन्योल फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि सामग्री प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको सत्यतथ्य पुष्टि गर्न तथा अपुष्ट र भ्रामक सूचना सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

















