कृष्णउदास खनाल

२०५२ सालमा सशस्त्र संघर्ष शुरु हुनुभन्दा अगाडिबाट नै नेपाली राजनीतिमा प्रचण्ड थिए तर उनी त्यो समयमा अहिलेको जस्तो चर्चामा थिएनन् । उनी मोहनबिक्रम सिंहको पार्टीमा रहेकाले सिंह सहितको योजनामा पञ्चायतकालमा नै मुलुकमा सशस्त्र संघर्ष अथवा जनयुद्ध संचालन गर्ने उद्देश्य उनीहरुको थियो । तर, तत्कालिन समयमा असफल भए पनि २०४६ को बहुदलीय व्यवस्थाको उदयपछि पनि उनीहरुको अवस्था राम्रो नभएपछि प्रचण्डको नेतृत्वमा २०५२ फागुन १ गतेबाट सशस्त्र संघर्षको घोषणा गरियो र जसलाई जनयुद्ध भनियो ।

अब प्रचण्ड र जनयुद्धको बिषयमा छोटो कुरा गरौं, जनयुद्ध आवश्यक थियो थिएन अब यसको ब्यख्या गर्नुभन्दा पनि जनयुद्धले के दियो भन्नेतर्फ लाग्नुपर्दछ । मुलुक आज संघीय लोकतान्त्रिक गणतन्त्रमा आउनुमा जनयुद्धको जग पक्कै छ र यसको नेतृत्वकर्ताका हिसावले प्रचण्ड एकखाले नायक हुन् । अब अलि नकारात्मक भएर कुरा गर्ने हो भने करिब १७ हजार नेपालीहरुको यो बीचमा अकालमा मृत्यु भएको छ र यसको अपजस पनि प्रचण्डले लिनु पनि पर्दछ । निरंकुश कम्यूनिष्ट शासनको परिकल्पना गरेर गरिएको जनयुद्धको समाप्तपछि पनि माओवादीका नेताहरुले गरेको सुखभोगका बिषयमा यहाँ धेरै चर्चा गर्न आवश्यक छैन ।

अब प्रचण्डको कुरा गरौं, छवीलाल हुदै पुष्पकमल अनि प्रचण्ड भएका उनले शान्ति स्थापनापछि दुई पटक यो देशको कार्यकारी भूमिकामा रहेका थिए । अब मंसिर ४ मा भएको चुनावको मत परिणाम सार्वजनिक भएसंगै उनमा प्रधानमन्त्री बन्ने हुटहुटी जागेको छ । केही मानिसहरुको चाहना यो देशमा अब प्रचण्ड, शेरबहादुर देउवा र केपी ओली कोही प्रधानमन्त्री नबनुन् भन्ने छ तर जनमतले भने त्यसो भनेको छैन ।

अहिले सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी सहितका दलहरु मिलेर सरकार बन्ने संभावना रहेकाले अबको प्रधानमन्त्री केही आश्चर्य भएन भने देउवा नै प्रधानमन्त्री हुन् र प्रचण्ड विकल्प हुन् । कांग्रेसमा गगनहरुले कुरा गरे पनि अहिले उनी संसदीय दलको चुनावमा बिजय हुने संभावना कम छ किनभने चुनावमा जितेका अधिकांश सांसद नै देउवाका छन् । अब बहस यसैमा केन्द्रित हुने हो अबको प्रधानमन्त्री प्रचण्ड कि देउवा ? देउवालाई अब प्रधानमन्त्रीको कुर्सी सुम्पिदा मुलुकले निकास पाउदैन ।

शान्ति प्रकृयाका बाँकी काम पूरा गर्नका लागि र प्रचण्डले देखेको केही बिकास र सम्मृद्धिको सपना मात्रै पूरा गर्ने अभिभारा दिएर सके पाँच वर्ष कामको आधार नभए सांढे दुई वर्ष दिंदा उचित हुनेछ । केपी ओली प्रधानमन्त्री बन्ने संभावना कम भएको र उनले नेकपाको दुई तिहाइ सरकारको समेत अवमुल्यांकन गरेकाले हालका लागि ओली योग्य छैनन् । केहीले भनेको जस्तो रबि वा युवा जमातले यही जनमतमा प्रधानमंत्री पाउने संभावना छैन । बरु उनीहरुले पांच बर्षमा राम्रो काम गरेर जनताको मन जितेर बहुमत ल्याएर अर्को पांच बर्षपछि सरकार चलाउन दिने समय पनि छ ।

त्यसैले अन्तिम एक पटक प्रचण्डका लागि अवसर दिइनु पर्दछ । अन्तिम एक पटक किन भनियो भने अब उनी अर्को पाँच वर्षपछि हुने चुनावमा मुलुकको कुनै पनि ठाउबाट उठेको खण्डमा जित्ने संभावना कम छ । गठबन्धन हुँदा समेत गाहे भएकाले अब प्रचण्डका लागि अन्तिम अवसर नै हो ।

त्यसैले राम्रो कामको सवालमा र परिवर्तनको पक्षपाती भएका नाताले र शान्ति प्रकृयालाई निश्कर्षमा पु¥याउनका लागि अन्तिम पटक कमरेड प्रचण्डलाई हेरौं । यदि काम गर्ने क्रममा संबिधान अनुसार दुई वर्षसम्ममा गति नलिने त्यसपछि बिकल्प खोज्ने सर्तमा हेरौं । यो प्रचण्डप्रतिको चाकडी जस्तो लागे पनि सत्यता भने माथि नै उल्लेख भइसकेको छ ।

 

Leave a Reply