सिम्रौनगढ,रौतहट जिल्लाको गौरस्थित उद्योग बाणिज्य संघको सभा हलमा बिमा समितिले स्थानीय जनप्रतिनिधिसंग समन्वय गरेर जनचेतनामुलक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।
बिमा समितिको आयोजनामा भएको सो कार्यक्रममा १९ वटा जीवन बिमा र २० वटा निर्जीवन बिमा कम्पनीका शाखा प्रमुख तथा एजेन्सी, व्यवस्थापक र बिमा समितिका कर्मचारी एंव विभिन्न पालिकाका वडा अध्यक्षहरुको सहभागिता रहेको बिमा समितिका निर्देशक दिनेश लाल कर्णले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले जीवन बिमा तथा कृषि बिमाको महत्व बारे प्रकाश पार्नु भएको थियो । निर्देशक कर्णले करोडौंको लगानीमा घर निर्माण गर्ने तर जीवन बिमा र स्वास्थ बिमा नगर्ने परम्परालाई जरैदेखि नै समाप्त पार्नु पर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभएको थियो । ‘बिमा गर्नु जीवनमा सबैभन्दा ठुलो कर्म हो ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा गौर नगरपालिका प्रमुख अजयकुमार गुप्ताले नागरिकको हकहित र सुरक्षाको लागि जीवन बिमा गर्न अति जरुरी रहेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख किरण ठाकुर, नेपाल पत्रकार महासंघ रौतहट जिल्ला शाखा अध्यक्ष प्रेमचन्द्र झा, गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख उमेश झा, एजेन्सी व्यवस्थापक रामकैलास राय यादव, दिपेन्द्रकुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।