वीरगञ्ज । मधेस प्रदेशमा बढ्दै गएका यौनजन्य हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरीले वीरगञ्जबाट तीनदिने विशेष सचेतनामूलक अभियान सुरु गरेको छ।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसर पारेर सञ्चालन गरिएको अभियानको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालले वीरगञ्जस्थित घण्टाघरबाट गरेका हुन्।

उद्घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० कृष्णबहादुर पल्ली मगरले यौनजन्य हिंसामुक्त समाज निर्माणका लागि अभियान सञ्चालन गरिएको बताए।

उनका अनुसार मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएको देखिएकाले प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार तीनदिने अभियान अघि बढाइएको हो।

यस्ता अपराधको रोकथाम र नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नहुने उल्लेख गर्दै उनले नागरिक समाज, विभिन्न संघसंस्था, सरोकारवाला निकाय तथा सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको बताए। सबै पक्षसँग सहकार्य गरेर अभियानलाई प्रभावकारी बनाइने उनको भनाइ थियो।

जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा पर्साका प्रहरी प्रमुख पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्री, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता थियो।

कार्यक्रमको उद्घाटनपछि घण्टाघरबाट यौनजन्य हिंसाविरुद्ध सचेतनामूलक र्‍याली निकालिएको थियो। नगरका विभिन्न भागको परिक्रमा गरेको र्‍याली पुनः घण्टाघरमै पुगेर समापन भएको थियो।

तीन दिनसम्म सञ्चालन हुने अभियानमार्फत यौनजन्य हिंसाविरुद्ध जनचेतना फैलाउने, यस्ता घटनाको रोकथाम तथा नियन्त्रणमा समुदायको भूमिका बढाउने र सामाजिक सहभागिता अभिवृद्धि गर्ने लक्ष्य राखिएको प्रहरीले जनाएको छ।

Leave a Reply