काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। ब्याटिङमा अविजित अर्धशतक बनाएका रसेलले बलिङमा ४ विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित निकालेको हो।

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। अन्तिम बलमा रसेलले सेफ हसनलाई आउट गर्दै विराटनगरको जित पक्का गरे।

जनकपुरका लागि हसनले सर्वाधिक ७१ रन बनाए। ४८ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे। विशाल सुशीलङले ४३ तथा जिमी निशमले २९ रन जोडे। हसन र विशालले चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए।

बलिङमा विराटनगरका रसेलले ४५ रन खर्चेर ४ विकेट लिए। एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। इमरान शेखले ५६, लोकेश बमले ५० र रसेलले अविजित ५२ रन बनाए। इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए।

एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको यो पहिलो पटक भएको जनाइएको छ।

लगातार दोस्रो जितसँगै विराटनगरले चार खेलबाट ४ अंक जोडेको छ। जनकपुरले पनि चार खेलबाट ४ अंक जोडेको छ, तर प्रतियोगितामा उसको यो दोस्रो हार हो।

Leave a Reply