जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको समर्थक समूह ‘बोल्ट्स बटालियन’ ले महिनावारी स्वच्छता र जनचेतना अभिवृद्धिका लागि ‘डट फर डिग्निटी’ अभियान सुरु गरेको छ ।

अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले फाल्ने प्रत्येक डट बल बराबर मधेशका ग्रामीण क्षेत्रका महिलालाई एक थान सेनेटरी प्याड वितरण गरिनेछ । प्याड वितरणसँगै महिनावारीसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिने बोल्ट्स बटालियनका प्रतिनिधि जयकृष्ण महतोले जानकारी दिए ।

क्रिकेटको लोकप्रियतालाई सामाजिक परिवर्तनको माध्यम बनाउने उद्देश्यले अभियान सुरु गरिएको उहाँले बताउनुभयो । महिनावारी र सेनेटरी प्याडबारे समाजमा अझै पनि खुलेर छलफल गर्न हिचकिचाउने प्रवृत्ति रहेकाले त्यसलाई हटाउन अभियानले सहयोग पुर्‍याउने आयोजकको विश्वास छ ।

बटालियनका अनुसार महिनावारी लाज वा संकोचको विषय नभई प्राकृतिक प्रक्रिया र सम्मानसँग जोडिएको विषय हो भन्ने सन्देश अभियानमार्फत फैलाउन खोजिएको छ ।

बोल्ट्स बटालियनले यसअघि एनपीएलका पहिलो र दोस्रो सिजनमा रंगशाला सरसफाइ अभियानसमेत सञ्चालन गरेको थियो । यस वर्ष उक्त अभियानलाई निरन्तरता दिँदै महिनावारी स्वच्छतासम्बन्धी नयाँ अभियान थपिएको हो ।

Leave a Reply