पुष्पराज खतिवडा

मनहर्वा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि सार्वजनिक गरेको बजेटमा गाईभैंसीको लागि सुत्केरी खर्चको व्यवस्था गरेको छ ।नगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले बुधवार सार्वजनिक गरेको बजेटमा गाईभैसी ब्याएको एक हप्तासम्मको लागि रु १ हजार रुपैंयाका दरले आवश्यक मिनरल (पोषक तत्व) भिटामिन वितरण गर्न बजेट विनियोजन गरेको हो ।उपमहानगरको आठौं नगरसभामा उपप्रमुख अधिकारीले २ अर्ब १ करोड ८० लाख ४८ हजार ४११ रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ ।३१ करोड ७३ लाख ८२ हजार ९११ घाटा बजेट प्रस्तुत गर्नुभएका नगर उपप्रमुख अधिकारीले सडक, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिनुभएको छ ।१ अर्व ७० करोड ६ लाख ६५ हजार ५ सयको आय प्रस्तुत भएकोमा संघीय तथा प्रदेश सरकारको सिलिङ्ग अन्तर्गतको सशर्त अनुदान ५१ करोड ४३ लाख मुख्य आयको श्रोत हो ।संघीय र प्रदेश सरकारको विशेष अनुदान ३ करोड २५ लाख, समपुरक अनुदान ४ करोड ५० लाख, राजश्व बाँडफाँड, मालपोत, ढुँगा, टिट्टी बालुवालगायत राजश्व बाँडफाँडबाट ३९ करोड ७३ लाख ३२ हजार ४ सय पनि उपमहानगरपालिको आयमा देखाइएको छ ।कुल बजेटमध्ये ३५ करोड १० रकम नगरस्तरीय ठुला योजनामा खर्च गर्न ५८ वटा योजना अघि सारिएको छ । २० लाखदेखि २ करोडसम्मका योजना अँटाएका नगरस्तरीय योजनामा जीतपुर– बकुलिया– अमाडार– खैरहवा, फत्तेपुर– बडहर्वा कालोपत्रेदेखि वडा नं. १४ मा शहिद पार्क निर्माणसम्मका योजना समेटिएका छन् ।उपमहानगरपालिकाले आगामी वर्षको बजेटमा नगर प्रहरी भर्ना गर्ने योजना बनाएको छ । जसको लागि ६० लाख रुपैया बजेट व्यवस्था गरिएको छ । यस्तै महिला पुनर्थापना केन्द्र संचालन गर्ने, यूवा स्वरोजगार प्रोत्साहन कार्यक्रम, हरुवा चरुवाको तथ्याङ्क संकलन जस्ता नयाँ कार्यक्रममा पनि बजेट विनियोजन गरेको छ ।माध्यमिक र आधारभुत तहका विद्यालयहरुमा नगरस्तरीय स्वयम् सेवक शिक्षक भर्ना गर्न ३ करोड २ लाख २५ हजार बजेट विनियोजन गरेको नगरले पालिकाभित्रका ३५ वटा माध्यमिक, ३० वटा निम्न माध्यमिक र २५ वटा प्राथमिक गरी ७५ वटै विद्यालयमा यो सेवा संचालन गर्ने भएको हो ।जीतपुरसिमरा सहित ईनर्वासिरा, मनहर्वा, अमलेखगज र डुमरवानमा बर्थिङ्ग सेन्टर संचालन, मानसिक स्वास्थ्य कार्यक्रम, प्रसुति र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवालाई समेत बजेटमा समेटेको छ ।६५ वर्ष पुरा गरेका महिला स्वयम् सेविकालाई विदाई गर्ने, स्थायी बन्ध्याकरण शिविर संचालन गर्ने, मोवाईल ल्याब संचालन गर्ने योजना सहितको बजेट व्यवस्था उपमहानगरले गरेको छ ।

Leave a Reply