काठमाडौं । मोइन अलीको उत्कृष्ट अर्धशतक र राहुल यादवको घातक बलिङको मद्दतमा जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित निकालेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।
काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा मोइन अली र सैफ हसनले उत्कृष्ट ब्याटिङ गरे।
ओपनर मोइन अलीले अविजित ५८ रन बनाए। उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, सैफ हसनले ३९ बलमा अविजित ४० रन बनाए।
मोइन र हसनले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए।
लक्ष्य पछ्याउने क्रममा जनकपुरले ७ रन बनाउँदा ओपनर तृतराज दासलाई गुमाएको थियो। उनी ५ रन बनाएर आउट भए। त्यसपछि ३७ रनको अवस्थामा मयन यादव ९ रनमा पभेलियन फर्किए। त्यसपछि मोइन र हसनले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए। काठमाण्डुका रिपोन मोन्डलले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु गोर्खाज १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो।
काठमाण्डुलाई कम योगफलमा समेट्न जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। राहुलले दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमलाई आउट गरे।
सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले १–१ विकेट लिए।
काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। त्यस्तै, रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए।
कप्तान करण केसी ८, जहानदाद खान ५ र हरिशंकर शाह ९ रनमा आउट भए। रिपोन मोन्डलले ९ रन बनाए भने शाहव आलम ४ रनमा अविजित रहे। मोहम्मद आदिल आलम पहिलो बलमै आउट भए।
काठमाण्डुले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमाउँदा ठूलो साझेदारी बनाउन सकेन। ओपनर साम हिजलेट १ रनमा आउट भएका थिए भने हरिशंकर शाहले ९ रन मात्रै जोड्न सके।
यसअघि प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्स कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै जनकपुरले पहिलो जित दर्ता गरेको हो।
एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्।
















