सिमरा,बाराको सिमरामा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको तेस्रो संस्करण असोज दोस्रो सातादेखि सुरु हुने भएको छ । आयोजक सिमरा भेट्रान्स क्लबले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी असोज ७ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा यस वर्ष बंगलादेश, भारत र नेपालका १२ टिमले सहभागिता जनाउने भएका छन् ।प्रतियोगितामा बंगलादेश भेट्रान्स क्लब, क्लिब हाउस भेट्रान्स क्लब कलकत्ता, दार्जलिङ भेट्रान्स क्लब, साविक विजेता मोरङ भेट्रान्स क्लब, साविक उपविजेता चितवन भेट्रान्स क्लब, ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाण्डौ, फ्रिडम फाईटर भेट्रान्स क्लब काठमाण्डौ, वीरगन्ज युथ एकेडेमी, अभिशेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा र आयोजकको सहभागिता रहने संयोजक हरी चौधरीले जानकारी दिनुभयो ।‘मधेस प्रदेशको शान, भेट्रान खेलाडीप्रति उच्च सम्मान’ को नारासहित सिमरा रंगशालामा आयोजना हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५५ हजार प्रदान गरिने संयोजक चौधरीले बताउनुभयो ।जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र २४ वटै वडा कार्यालय, हुलास स्टील, सुर्य नेपाल, नारायणी रोलिङ मिल, नविल बैंक, युआर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टील, अल्पाईन अस्पताल, एभरग्रिन तराई सिमरा अस्पताल, एलएस न्युरो अस्पताल वीरगन्ज, बारा जिल्ला फुटवल संघ, नव जनजागृति युवा क्लब, सुसप्त मेडिकल, युआर अटामेटिक लण्ड्री, सगरमाथा इन्स्योरेन्स, वर्डलिंकलगायतका संघसंस्थाको सहयोग रहने आयोजक क्लबका अध्यक्ष राजकपुर राउतले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न करिब २४ लाख ३९ हजार खर्च हुने अनुमान गरिएको राउतले बताउनुभयो ।सिमरा भेट्रानका अध्यक्ष राउतको अध्यक्षता तथा बारा जिल्ला फूटवल संघको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, स्थानीय युवा हिरा बस्नेत, सगरमाथा इन्स्योरेन्सकी रुकु पाख्रीनलगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रदीप गौतमले गर्नुभएको थियो ।नेपाली कांग्रेसका स्थानीय युवा नेता श्यामबाबु गुप्ताले आफ्नो स्वर्गीय आमा मञ्जुदेवीको स्मृतिमा भेट्रान फुटबल प्रतियोगिताको सुरुवात गराउनुभएको हो । तेस्रो संस्करणसम्म आउँदा प्रतियोगितामामा विभिन्न संघसंस्था सहयोगीको रुपमा जोडिन थालेका छन् । प्रतियोगिताको अघिल्लो दुई संस्करणको उपाधी नवलपरासी र मोरङले उचालेको थियो ।


















