नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

काठमान्डुको जितमा रासिद खानले सर्वाधिक ५० रन बनाए। उनले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। कप्तान करण केसीले २० बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए। त्यस्तै जहानदान खान २२ रनमा अविजित रहे।

कर्णालीका कप्तान सोमपाल कामी र हुसेन तलतले २–२ विकेट लिए भने मार्क वाट र नन्दन यादवले १–१ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। कर्णालीका अरिफुल इस्लामले ४४, हुसेन तलतले ४०, पवन सर्राफले अविजित ३० र गुल्सन झाले २० रन जोडे।

बलिङतर्फ काठमान्डुका कप्तान करण केसीले २ विकेट लिए भने शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले १–१ विकेट लिए।

पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डुले दुई खेलबाट २ अंक जोडेको छ। लगातार दुई जित निकालेको कर्णालीले भने पहिलो हार व्यहोरेको छ।

Leave a Reply