निजगढ,निजगढ ११ को रतनपुर युनाइटेड निजगढ–१०लालमा जारी तेश्रो ल्होसारकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।बिहीवार लालस्थित बुद्ध मिनि रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा बेङ्गखाडी क्लब बर्दिवासलाई ३–४ गोल अन्तरले हराउँदै रतनपुरले फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा रतनपुरले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो । खेलको ३८औँ मिनेटसम्म २–० ले पछि परेको रतनपुरले ४२औँ मिनेटमा गोल गर्दै खाता खोलेको थियो ।रतनपुरका दीपेश आलेले करिब २५ यार्डबाट प्रहार गरेको फ्रीकिक गोलमा परिणत भएको थियो । बेङ्गखाडीका लागि ३२औँ र ३८औँ मिनेटमा सुदिप आले र बिनु आलेले १-१ गोल गरेका थिए । दोश्रो हाफको ५५औँ र ५९औँ मिनेटमा रतनपुरका उज्वल भण्डारी र आनन्द गुरोले गोल गर्दै टिमलाई २–३ को अग्रता दिलाए ।
खेलको इन्जुरी टाईममा पुनः दीपेश आलेले उत्कृष्ट गोलमार्फत टिमलाई २–४ को अन्तरले अग्रता दिलाए । दीपेशले प्रहार गरेका कर्नर किकले सिधै जाली चुमेको थियो।बेङ्गखाडीका खेलाडीले ८७औँ मिनेटमा पुनः एक गोल गरेपनि खेलमा फर्कन सकेन ।रतनपुरका गणेश हमाल ‘म्यान अफ द म्याच’ घोषित भए।उनलाई निजगढ–१० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले नगदसहित ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।फाइनल खेलमा रतनपुर उपाधीका लागि शनिवार वीरगञ्ज युनाइटेडसँग भिड्ने छ । योङस्टार युनाइटेड क्लब, निजगढ–१०, लालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार २ सय २ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १हजार १ सय १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सौजन्य तस्बिर