सोलुखुम्बु । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन् । अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टरका पंखा ठोक्किएको जानकारी आएको बताउँदै घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिएका छन् ।

दुर्घटनाको विस्तृत विवरण तथा घटनाको कारणबारे थप जानकारी आउन बाँकी रहेको छ ।

Leave a Reply