आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा मंगलवार राती चोरी भएको छ । नगरपालिकाको वडा नम्बर ६ मालपोत रोडस्थित दिनेश पन्डितको घरमा चोरी भएको हो । पन्डितको घरबाट करिब १० लाख रुपैयाँ बराबरको गहना र नगद चोरी भएको बताइएको छ ।

चोरहरुले बाँसको सिढी प्रयोग गरेर घरभित्र प्रवेश गरेका थिए । उनीहरुले घरभित्र जस्ताको बाक्सासहित उक्त बाक्सामा रहेको पाँच थान सुन र तीन थान चाँदीको गहनाका साथै एक लाख ४० हजार रुपैया नगद चोरी गरेर लगेको घर धनी पन्डितले जानकारी दिनुभयो ।
चोरी भएको उक्त बाक्सा बुधवार बिहान गाउँ नजिकैको खेतमा ताल्चा फोडिएको अवस्थामा फेला पारिएको थियो । यस घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएको छ ।
त्यस्तै सिम्रौनगढ नगरपालिका वडा नम्बर १ खजानी टोलस्थित राजकुमार कुशवाहाको किराना पसलमा पनि गत सोमवार राती चोरी गर्ने प्रयास गरिरहेका अवस्थामा एक व्यक्ति पक्राउ परेका छन ्। पक्राउ पर्ने व्यक्तिको नाम गोप्य नै राखिएको प्रहरीले जनाएको छ । किराना पसलको ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा ती व्यक्तिलाई पिपरपाती सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।



















