वीरगञ्ज । पर्सा प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि, लत्ताकपडा तथा पशुचौपाया बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२५ खाल्वाबाट २ लाख ३१ हजार ६०४ रुपैयाँ मूल्यका विभिन्न प्रकारका औषधि बरामद गरिएको हो । भारतबाट भन्सार छली गरी ल्याइएका ती औषधि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट ५ लाख ५९ हजार ८२० रुपैयाँ मूल्यका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको छ । सोही स्थानबाट २ लाख ५० हजार रुपैयाँ मूल्यको एउटा भैँसी र १० हजार रुपैयाँ पर्ने एउटा खसीसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार दुवै स्थानबाट बरामद गरिएका सामान तथा पशुचौपायाको कुल मूल्य १० लाख ५१ हजार ४२४ रुपैयाँ रहेको छ ।
बरामद गरिएका औषधि, लत्ताकपडा र पशुचौपाया आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।















