खाडी देशको दुबहीमा चारदिन बसेर नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आइतबार राति नेपाल फर्कनुभयो । ठूलै प्रतिनिधि मण्डल लिएर दुबही पुग्नु भएका प्रधानमन्त्रीले दुबहीमा भएको वातावरण प्र्रदूषणसंग सम्बन्धित भनिएको कोप २८ मा के कुरा उल्लेख गर्नुभयो भन्ने चैं महत्वपूर्ण कुरा हो । त्यसो त नेपालका प्रधानमन्त्री वा सरकारी प्रतिनिधिहरुले बिश्व सामु उठाउने विषय वस्तुहरु गौण नै हुने गर्दछन् । अथवा, उनीहरुको कुराको सुनुवाइ कम हुने गर्दछ । नेपालले उठाउने विषय गहन भएपनि सानो देश भएर पनि होला नेपालले उठाउने विषयमा छलफल र बहस कमै हुने गर्दछ । कोप २८ मा पनि प्रधानमन्त्री प्रचण्डले उठाएको कुरा गौण नै हुने देखिन्छ तर विषय भने राम्रो उठान भएको छ । नेपाल वास्तवमा जलवायु परिवर्तनका सवालमा मारमा परिरहेको छ । नेपालले अनावश्यक रुपमा सजायँ मात्रै भोगिरहेको छ ।
नेपालले प्रत्यक्ष रुपमा जलवायुलाई असर गर्ने खालको गतिविधि गरेको छैन तर यसको सिधा असरमा नेपाल छ । जलवायु परिवर्तनका असरका कारण नेपालले धेरै कुरामा क्षति बेहोेर्न परेको छ । प्रधानमन्त्रीले यिनै कुराहरु उठाएको पनि देखिन्छ कोप २८ मा । तर, नेपालका प्रधानमन्त्रीले उठाएको कुरा कसले सुनिदिने मुख्य कुरा चैं यो छ । जलवायु परिवर्तनमा केही सुधार होस् यसो भएको खण्डमा प्रधानमन्त्रीको सहभागिताको अर्थ रहला ।


















