कोल्हबी,बाराको कोल्हबी नगरपालिका– १ स्थित तामागढी बचत तथा ऋण सहकारी संस्था लि. मधेस प्रदेशमै उत्कृष्ट सहकारी घोषित भएको छ ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३८ औँ स्थापना दिवसको अवसरमा शनीवार काठमाडौमा आयोजित कार्यक्रममा तामागढी सहकारीलाई ‘मधेस प्रदेश उत्कृष्ट सहकारी’ घोषित गरिएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संस्थाका अध्यक्ष एकराज आचार्यलाई उत्कृष्ट सहकारीको प्रमाणपत्र प्रदान गर्नु भएको हो ।सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उत्कृष्ट सहकारी संस्था र संचालकहरुलाई सम्मान प्रदान गर्दै आगामी दिनमा अझ राम्रो काम गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।नेफ्स्कूनले विगतमा स्थापना दिवसमा उत्कृष्ट सहकारी संस्थाको नाममात्र घोषणा गरी साधारण सभाको अवसरमा पुरस्कार वितरण गर्दै आएकोमा यस वर्षदेखि भने स्थापना दिवसकै अवसरमा सम्मानपत्र समेत प्रदान गर्न सुरु गरेको हो ।कार्यक्रम नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको थियो ।



















