कलैया,बाराको महागढीमाई नगरपालिका–६ मा निर्माण गरिएको कालोपत्रे सडक गुणस्तरहीन भएकोभन्दै स्थानीयले असन्तुष्टि जनाएका छन ।नगरपालिकाको पत्रहट्टीदेखि बर्वा–पर्सा जोड्ने सडकखण्डमा केही दिनअघि मात्र गरिएको कालोपत्रे १५ दिन नपुग्दै उक्किन थालेपछि स्थानीयले निर्माण कम्पनीले गुनस्तरहीन कार्य गरेकोभन्दै विरोध जनाका हुन । स्थानीयवासीहरू अनुसार सडकको बेसमा बालुवा मात्रै हालेर, बिना रोलर कालोपत्रे गरिएकोले निर्माण सम्पन्न भएको छोटो समयमा नै ढुङ्गा निस्किन थालेको हो।

स्थानीय विक्रमप्रसाद यादवले स्वास्थ्य चौकी पत्रहट्टीदेखि हुलाकी राजमार्गसम्म कालोपत्रे गरिएको सडकमा पातलो तहमा अलकत्रा राखिएकोले गाडी नचलाउँदै सडक भत्किएर कालोपत्रे उक्किएको दाबी गर्नुभयो। निर्माण कम्पनीको लापरबाही र कमजोर सामग्री प्रयोग गरिएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन् र गुणस्तर छानबिनको माग गरेका छन् ।
सडक निर्माणको ठेक्का पाएको भागवती श्री राधेमाई निर्माण सेवा, वीरगञ्ज–पर्साका प्रोपराइटर नन्दराज सर्राफले भने सडकको कोर एरियामा फोरेर हेर्न आग्रह गर्दै गुणस्तरहीन काम नभएको दाबी गर्नुभएको छ । उहाँले इन्जिनियरमार्फत ल्याब जाँच गराउन तयार रहेको भन्दै “सब–बेस १५ से.मी., बेस १५ से.मी. र प्रिमिक्स ३ से.मी.” अनुसार निर्माण गरिएको जानकारी दिनुभयो।

सघन शहरी तथा भवन निर्माण आयोजना, वीरगञ्जमार्फत निर्माण भएको उक्त १ किलोमिटर सडक रु. ६२ लाख २५ हजारको लागतमा निर्माण गरिएको हो।आर्थिक वर्षको अन्त्य हुनलाग्दा हतार हतारमा गरिएको निर्माण कार्यमा गुणस्तर कायम गर्न निर्माण कम्पनीले आवश्यक ध्यान नदिएको र सडक निर्माण सम्पन्नहुननपाउँदै भत्किन थालेको स्थानीयको भनाई छ । सौजन्य तस्बिर

Leave a Reply