काठमाडौं । पाकिस्तानमा बिहीबार भएको आम निर्वाचनको मत गणना जारी छ । सुरुवाती रुझानमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु सबैभन्दा अगाडि छन् ।
पाकिस्तानका मिडियाहरुका अनुसार १२० सिटमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरु अगाडि छन् । पीटीआईका अध्यक्ष गौहर रजाले भने आफूहरु १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गर्दै पहिलो पटक जेलमा रहेको एक कैदी ९इमरान खान० देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।पाकिस्तानको नेशनल एसेम्लीमा कुल ३३६ सिटमध्ये २६५ सिटमा बिहीबार निर्वाचन भएको थियो । बाँकी सिट आरक्षित छन् । सरकार बनाउनका लागि १६९ सिट जित्नुपर्दछ ।
वर्तमान सरकारले पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार आरोपमा १४ वर्ष जेल सुनाउँदै उनको पार्टी पीटीआईलाई निर्वाचन लड्न समेत प्रतिबन्ध लगाएको थियो । त्यसपछि पीटीआई समर्थित उम्मेदवारहरु स्वतन्त्र रुपमा चुनाव लडेका थिए । सरकारले पक्रेर जेलमा हालेका कतिपय उम्मेदवाररु जेलबाटै चुनाव लडेका छन् ।
सबैभन्दा धेरै सिटमा अग्रता देखिएपछि उत्साहित भएका पीटीआईका कार्यकर्ताहरुले ठाउँठाउँमा खुसियाली जुलुस निकालेका छन् ।पीटीआईको सुरुवाती अग्रतालाई अप्रत्यासित मानिएको छ । किनभने इमरान खान जेलमा भएको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न प्रतिबन्ध लगाइएकाले नवाज शरीफ नेतृत्वको पार्टीले धेरै स्थानमा चुनाव जित्ने प्रक्षेपणहरु सार्वजनिक भएका थिए । तर मत गणनाको सुरुवाती चरणमा शरीफको पार्टी दोस्रो र बिलावल भुट्टोको पार्टी तेस्रो स्थानमा छन् ।
इमरान खान नेतृत्वको पार्टीका स्वतन्त्र उम्मेदवारहरु अग्रस्थानमा रहेपछि मत परिणाम सार्वजनिक गर्न ढिलाइ गरिरहेको आरोप निर्वाचन आयोगलाई लागेको द डनको अनलाइन संस्करणमा उल्लेख छ ।विद्युतीय मेसिनबाट मतदानबाट गरिएकाले सबै निर्वाचन परिणाम आजै सार्वजनिक हुने अनुमान छ ।



















