काठमाडौं । नेपाल आयल निगमले मुलुकमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।
निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालन भइरहेका ग्यास उद्योगलाई एकीकृत गर्ने नीति कार्यान्वयन गर्न लागेको हो।
हाल नेपालमा विभिन्न ब्रान्डका ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।
यसैक्रममा निगमले गत कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै उद्योग गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
निगमका अनुसार उद्योगहरू एकआपसमा गाभिएपछि ग्यासको बिक्री वितरण प्रणाली थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बन्ने अपेक्षा गरिएको छ।
















