जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेलसेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रेलसेवाको उद्घाटन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाइएको हो।
नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सातामा एक दिन भारतको अयोध्याबाट जनकपुरधाम आउने गरी विशेष रेलसेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। रेलसेवा सञ्चालनका लागि नेपाल र भारतका रेलवे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको उनले जानकारी दिए ।
पराजुलीले विशेष रेलसेवाको औपचारिक उद्घाटन मिति भने अझै तय नभएको बताए । उनका अनुसार रेल सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी भइरहेको छ।
रेलसेवा सञ्चालनका क्रममा यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले लिने विषयमा दुवै पक्षबीच सैद्धान्तिक सहमति भएको छ।
केही दिनअघि नेपाल र भारतका रेलवे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीको संयुक्त टोलीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।
रामायण सर्किटअन्तर्गत सञ्चालन गर्न लागिएको विशेष रेलसेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
माता जानकीको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेलसेवामार्फत जोड्ने योजनाले दुवै देशका धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई आवतजावतमा सहज हुने जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दासले बताए ।
उहाँका अनुसार रेलसेवा सञ्चालनमा आएपछि जनकपुरधाम र अयोध्याबीच धार्मिक यात्राका लागि थप सहज र व्यवस्थित माध्यम उपलब्ध हुनेछ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले विशेष रेलसेवा सञ्चालनले दुवै देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पर्यटन र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने समेत बताए ।
उनले रेलसेवा सञ्चालनमा आएपछि जनकपुरधामका होटल, यातायात तथा व्यापार व्यवसायमा कारोबार बढ्ने अपेक्षा व्यक्त गरे ।
हाल नेपालमा भारतको जयनगरदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालनमा रहेको छ। प्रस्तावित जनकपुरधाम–अयोध्या विशेष रेलसेवा सञ्चालनमा आएपछि दुवै देशका धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई थप सुविधा पुग्ने विश्वास गरिएको छ।

















