निजगढ,बाराका ४ मध्ये ३ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु फराकिलो मतान्तरले विजयी भएका छन । मत परिणाम सार्वजनिक हुन बाँकी क्षेत्र नम्बर २ मा पनि सोही पार्टीका उम्मेदवार चन्दन सिंह पनि विजयउन्मुख हुनुहुन्छ । यो समाचार तयार पार्दासम्म उहाँ २४ हजार २ सय ९९ मतका साथ अग्र स्थानमा रहनुभएको छ ।निकटतम प्रतिस्पर्धी जसपा नेपालका रामकिशोर यादव १० हजार ३ सय ८४ मतका सिंहलाई पछ्याइरहनुभएको छ । नेपाली कांग्रेसका भैयाराम यादवले ७ हजार ३ सय ३५ र नेकपा एमालेका बलवीर चौधरीले ६ हजार ३० मत पाउनुभएको छ ।
०४८ सालयता भएका संसदीय र संविधान सभा निर्वाचनमा कुनै पनि दलले जिल्लाको ४ वटै निर्वाचन क्षेत्रबाट यसरी एकैपटक जित हात पार्न सकेका थिएनन ।
निर्वाचन कार्यालयबाट प्राप्त जानकारी अनुसार क्षेत्र नम्बर १ बाट गणेश धिमाल बिजयी हुनुभएको छ । धिमाल ३९ हजार ९ सय ९८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
उहाँले नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकीसंग २५ हजार सात सय ७५ मतको मतान्तरले जित हात पारेका हुन् । बुढाथोकीले १४ हजार दुई सय २३ मत पाएका छन् ।
यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले ११ हजार ६ सय ४५ मत पाउनुभएको छ । मैनाली २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सन्तोष दंगालले दुई हजार आठ सय ७८, जसपा नेपालका रामबाबु प्र. यादवले दुई हजार पाँच सय ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सा कलवारले ९ सय ४१, उज्यालो नेपालका अनवर अंसारीले ६ सय ७७ मत पाएका छन् ।

त्यसैगरी क्षेत्र नम्बर ३ बाट पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साह निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले शनिबार सार्वजनिक गरेको आधिकारिक परिणाम अनुसार साहले ४० हजार ६९७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै जनता समाजवादी पार्टी, नेपालका रामबाबुकुमार यादवले ६ हजार ८८४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट रहवर अन्सारी विजयी हुनुभएको छ । अन्सारीले नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठलाई २९ हजार पाँच सय ६१ मतान्तरले पराजित गर्नुभएको हो । अन्सारीले ४१ हजार दुई सय मत प्राप्त गर्दा श्रेष्ठले ११ हजार ६ सय ३९ मत पाउनुभएको छ ।

यसैबीच प्रतिनिधिसभा सदस्यमा निर्वाचित अन्सारीलाई नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले फोन गरेर बधाई दिनुभएको छ ।निर्वाचन परिणाम सार्वजनिक भएपछि श्रेष्ठले अन्सारीलाई विजयी भएकोमा बधाई दिँदै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । चुनावी प्रतिस्पर्धा भए पनि क्षेत्रको विकासका लागि सहकार्य गर्न आफू तयार रहेको श्रेष्ठले बताउनुभएको छ ।अन्सारी २०७९ सालमा पर्सा क्षेत्र नं. १ (१) बाट नेकपा माओवादी केन्द्रका तर्फबाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पछि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर बारा ४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्नुभएको थियो ।

मतगणना सुरु भएदेखि नै अन्सारीले अग्रता कायम राख्नुभएको थियो । क्षेत्रका ३८ वडामध्ये ३६ वडामा अन्सारीले अग्रता लिएका थिए भने दुई वडामा मात्रै श्रेष्ठले अग्रता लिनुभएको थियो ।

Leave a Reply