पुष्पराज खतिवडा
मनहर्वा,मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका ४ बर्षिय बालकको परिवारलाई शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्षले आर्थिक सहयोग गर्नुभएको छ ।
माथिल्लो बडहर्वाका केशव थापा मगरका छोरा रियान भनिने टिकाबहादुर थापाको गएको ३ गते पहिचान नखुलेको मोटरसाइकलको ठक्करबाट ज्यान गएको थियो ।
आर्थिक रुपमा विपन्न थापा परिवारमा वडा अध्यक्ष अर्जुनप्रसाद दाहालले २५ हजार नगद रकम मृतक बालकका पिता केशव थापालाई हस्तानतरण गर्नुभएको हो ।
बालकको परिवारमा आर्थिक सहायता उपलब्ध गराउन उपमहागनरपालिका कार्यालय पुग्नुभएका दाहालले कार्यालयमा मेयर, उपमेयर र प्रशासकीय अधिकृत कसैलाई नभेटेपछि आफ्नै खाताबाट रकम निकालेर पिडितलाई दिएको बताउनुभयो । ‘नगरपालिकाले सहयोग गरे ठिकै छ । नभए पीडित परिवारमा मेरै तर्फबाट सहयोग गरेको छु, उहाँले भन्नुभयो, नहुनु पर्ने दुखद् घटना भयो । पिडित परिवारमा सान्तवना स्वरुप सहयोग गरेको हुँ । थप सहयोगका लागि नगरपालिकामा निवेदन दर्ता गराएको छु ।’
बालकलाई ठक्कर दिने मोटरसाइकलको पहिचान हुन नसक्दा हालसम्म चालकलाई पक्राउ गर्न सकिएको छैन । अपाचे आरटिआर मोटरसाइकलले बालकलाई ठक्कर दिँदा सो मोटरसाईकलको तेल ट्यान्कीको एकापट्टीको भाउजर खसेको थियो ।
सोही भाउजरका आधारमा प्रहरीले बालकलाई ठक्कर दिने मोटरसाइकलको खोजी कार्यलाई तीव्र पारेको छ । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक डिएसपी मनोजीत कुँवरले सिसिटिभि फुटेज र मोटरसाइकलको एउटा पाट्र्सको आधारमा घटनामा संलग्नको खोजी कार्यलाई तिब्र पारिएको बताउनुभयो ।