अनिल तिवारी,

सिमरा, ११ भदौँ– जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १ र २ का युवाहरुले संयुक्त रुपमा फुड बैङ्क अभियान संचालनमा ल्याएका छन । कोरोना भारइस संक्रमित भएका विपन्न तथा असहाय परिवारहरुको लागि खाद्यान्न उपलब्ध गराउने उद्देश्यले अभियान संचालनमा ल्याइएको हो ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) मा बारा जिल्लामा दोस्रो पटक जारी गरिएको निषेधाज्ञाबाट संक्रमित तथा विपन्न र असहाय परिवारलाई खाद्यान्न संकटबाट जोगाउन ‘फुड बैङ्क, सिमरा’ नामको अभियान संचालनमा ल्याएको जितपुरसिमरा वडा नम्बर– १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ्गले जानकारी दिनुभएको छ ।

अभियान अन्तरगत दाताबाट खाद्यान्न संकलन गर्ने र संकलित खाद्यान्नलाई कोरोना संक्रमित, विपन्न तथा असहाय परिवारहरुको पहिचान गरी नामावली र विवरण तयार पारेर वितरण गर्ने तयारी भइरहेको वडा अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो ।

अभियानको पहिलो दिन ३२ बोरा चामल, ३ कार्टुन चाउचाउ, २४ किलो पिठो, १८ प्याकेट नुन, ६ किलो मस्यौरा, ७ किलो दाल, १४ लिटर तेल र ६ हजार १ सय नगद संकलन भएको यस अभियानका अभियन्ता सदस्य राजकुमार लामाले जानकारी दिनुभयो ।

उहाँले यस अभियानलाई वडा नम्बर १ र २ मा तीन दिनसम्म संचालन गर्ने र त्यसबाट संकलित खाद्यान्नलाई वडामा रहेका कोरोना संक्रमित, विपन्न तथा असहाय परिवारहरु वितरण गरिने जानकारी पनि दिनुभयो ।

Leave a Reply