चन्द्रपुर,रौतहट प्रहरीले एकै दिनमा ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्तर्गत जिल्ला अदालत रौतहटबाट दण्ड जरिवाना रोकिएर लामो समयदेखि फरार रहेका ३२ जना प्रतिवादीलाई मङ्गलवार एकैदिनमा प्रहरीले पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना केही अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना , गाली बेईजतीमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताउनुभएको छ ।
पक्राउ परेका सबैजना लाई फैसला कार्यान्वयन लागि जिल्ला अदालत रौतहटमा मङ्गलवार उपस्थित गराइएको प्रवक्ता रायले जानकारी दिएका छन् । उनीहरूबाट जरिबाना स्वरूप करिब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

















