वीरगञ्ज,दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह मण्डपबाट हिँडेको आरोप लागेका बेहुलासहित पाँच जनालाई पर्सा जिल्ला अदालतले ६-६ महिना कैद सजाय सुनाएको छ ।पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलवार बेहुलासहित पाँच जनालाई विवाह सम्बन्धी कसुरमा दोषी ठहर गर्दै जनही ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। साथै, अदालतले बेहुला पक्षले दाइजोमा लिएको ५ लाख ६५ हजार रुपैयाँ बेहुली पक्षलाई फिर्ता गर्नुपर्ने आदेश पनि दिएको छ ।

गत २०८० फागुन २८ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा बेहुलीको घरमा वैवाहिक कार्यक्रम चलिरहेको बेला बेहुलाले सुनको सिक्री मागेपछि बेहुली पक्षसँग विवाद भएको थियो । सो क्रममा कुटपिटसमेत भएपछि विवाह भाँडिएको थियो। प्रहरीले सोही राति बेहुला, उनका बुबा, दुई दाजु र भिनाजु गरी पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

बेहुली पक्षले २०८० फागुन २९ गते दिएको जाहेरीका आधारमा पक्राउ परेका बेहुला बाराको कलैया उपमहानगरपालिका–४ का २८ वर्षीय उमेश साह, उनका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेश कुमार साह, ४० वर्षीय मुकेश कुमार साह र भिनाजु बाराकै परवानीपुर गाउँपालिका ५ का ४५ वर्षीय रामएकबाल साहविरुद्ध विवाह सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। यद्यपि, पर्सा जिल्ला अदालतले केही दिनपछि उनीहरूलाई धरौटीमा रिहा गरेको थियो ।वीरगञ्ज–२४ रामगढवास्थित बेहुलीको घरमा विवाहको परम्परा अनुसार विधि भइरहेको बेला विवाद उत्पन्न भई बेहुला र बेहुली पक्षबीच झडप भएको थियो । त्यसपछिबेहुला उमेश विवाह नगरी मण्डपबाट बाहिरिएका थिए। बेहुली पक्षले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले बेहुलासहित पाँच जनालाई पक्राउ गरेको थियो ।

Leave a Reply