वीरगञ्ज,पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवा प्रदान गर्दै आएका लेखापढी व्यवसायीहरू सोमबारदेखि अनिश्चितकालीन हड्तालमा उत्रिएका छन् । नयाँ सरकार बनेसँगै प्रहरीले विभिन्न कार्यालय परिसरभित्र र बाहिरबाट बिचौलियाको आरोपमा गरिएको धरपकड को विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

गत शुक्रबार पोखरिया मालपोत कार्यालयबाट तीन जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएपछि परिस्थिति थप तनाबपूर्ण बनेको थियो । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका व्यवसायीहरूले सेवा पूर्ण रूपमा बन्द गरेका छन् ।एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्रप्रसाद यादवका अनुसार आइतबार बसेको बैठकले सरकार र प्रहरी प्रशासनको अत्यधिक कठोर तथा अनुचित व्यवहार को विरोध गर्दै हड्ताल गर्ने निर्णय गरेको थियो ।

उहाँले भन्नुभयो, “नियम अनुसार इजाजतपत्र लिएर भू–सेवा केन्द्र सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई बिनाकारण धरपकड गर्नु अत्यन्त खेदजनक छ ।” यादवले विभिन्न जिल्लाबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तुरुन्तै रिहा गर्न पनि माग गर्नुभएको छ ।पर्सा जिल्लामा भू–सेवा केन्द्र सञ्चालन अनुमति लिएका १२१ जना तथा लेखापढी व्यवसायीको इजाजतपत्र प्राप्त ४ सयभन्दा बढी व्यवसायी कार्यरत छन् । हड्ताल सुरु भएपछि सरोकारवाला नागरिक तथा सेवा खोज्नेहरू समस्यामा परेका छन् । लेखापढी व्यवसायीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

Leave a Reply