कलैया । मधेसका पुराना राजनीतिक दल तथा नेतृत्वप्रति जनविश्वास कमजोर हुँदै गएको भन्दै मधेसी राजनीतिमा पुस्तान्तरणको आवाज चर्किन थालेको छ । मधेसको राजनीतिक नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने मागसहित विभिन्न युवा समूह तथा संस्थाहरूले अभियान सञ्चालन गर्न थालेका छन् ।

विशेषगरी जेनजी आन्दोलनपछि देशभर राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस चलिरहेका बेला मधेसवादी दलहरूमा पनि यसको दबाब बढेको छ ।

पुराना नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज उठाउँदै तराई–मधेसका केही युवाले ‘हुङ्कार मधेस’ अभियान सञ्चालन गरिरहेका छन् । त्यस्तै, शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले पनि युवाको नेतृत्व स्थापित गर्न ‘मधेस अबको बाटो’ अभियान सुरु गरेको छ ।

प्रतिष्ठानले मधेससहित काठमाडौंका विभिन्न स्थानमा युवासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैक्रममा सामाजिक अभियन्ता सञ्जय यादवको अगुवाइमा आइतबार कलैयामा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मधेस आन्दोलनको इतिहास, त्यसबाट प्राप्त उपलब्धि, वर्तमान चुनौती तथा आगामी राजनीतिक र सामाजिक दिशाबारे छलफल गरिएको थियो । सहभागीहरूले मधेसको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा नागरिक अगुवा उमेशलाल दासले वर्तमान सरकारले मधेसका मुद्दा सम्बोधन नगरे मधेसी युवाले अरूको मुख ताक्नुभन्दा आफैँ नेतृत्व लिनुपर्ने बताए ।

जनता समाजवादी पार्टीबाट हालै विद्रोह गरेका मधेस प्रदेशका पूर्वसांसद विक्की यादवले मधेसको विकल्प मधेस नै भएको उल्लेख गर्दै युवाहरूले आ–आफ्नो ठाउँबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि देशको राजनीतिक परिवेश परिवर्तन भएको र पुराना दल तथा नेतृत्वप्रति जनविश्वास कमजोर हुँदै गएको बताए । उनले मधेसको राजनीतिलाई पुनर्जीवित, पुनर्गठित र पुनर्परिभाषित गर्न युवाहरू संगठित हुनुपर्ने धारणा राखे ।

स्थानीय महिला नेतृ हिरमति कुशवाहाले पनि मधेसमा स्वच्छ छवि र जनताप्रति उत्तरदायी नेतृत्वको आवश्यकता रहेको बताइन् ।

मधेसका राजनीतिक तथा सामाजिक मुद्दालाई नयाँ पुस्ताको दृष्टिकोणबाट अघि बढाउनुपर्ने आवाजसँगै मधेसी दलभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस थप सक्रिय हुन थालेको छ ।

Leave a Reply