बारा । बाराको फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

फेटा–३ निवासी धर्मेन्द्र पासवानका छोरा आदित्यलाई आइतबार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट काठमाडौं पठाइएको हो। उनीसँगै उनका बुवा धर्मेन्द्र पनि काठमाडौं गएका छन्।

शनिबार नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयमा स्थानीय र प्रहरीबीच विवाद हुँदा झडप भएको थियो। त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर आदित्य घाइते भएका थिए। उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज भर्ना गरिएको थियो। उपचारका क्रममा शल्यक्रिया गरी गोली निकालिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो।

अस्पतालमा आवश्यक पूर्वाधार, चिकित्सक, नर्स, शय्या तथा अन्य सेवा सुविधा सुनिश्चित गरेपछि मात्र उद्घाटन गर्नुपर्ने माग राख्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा स्थिति तनावपूर्ण बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

झडपका क्रममा अस्पतालमा तोडफोड हुनुका साथै करिब नौवटा मोटरसाइकलमा आगजनी गरिएको थियो। घटनामा पाँच जना प्रहरीसमेत घाइते भएका थिए।

यसैबीच, घटनाको स्थलगत छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको छ। टोलीमा प्रहरी उपरीक्षक भुनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन्। टोलीलाई घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्। लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई प्रसौनीको प्रमुखका रूपमा खटाइएको एसपी कुँवरले बताए।

Leave a Reply