सिकिन्द्र साह

सिम्रौनगढ , ३१ श्रावण ।  भारतको महाराष्ट्र, मुम्बईमा रोजगारीको सिलसिलामा गएका बारा जिल्लाका आदर्श  कोतवाल गाउँपालिका–४, कोईलिडिह निवासी ३० वर्षीय राधेश्याम पटेलको जीवन यात्रा अकालमै समाप्त भएको छ। मेहनती, सरल र परिवारप्रति जिम्मेवार पटेल विगत आठ महिनादेखि मुम्बईस्थित बेग कम्पनीमा कार्यरत थिए।

 

काम सकेर राति डेरा फर्किने क्रममा सवारी दुर्घटनामा परेपछि उपचारका क्रममा उनको निधन भएको हो। तर, उनले देखाएको श्रम, संघर्ष र परिवारप्रतिको जिम्मेवारी गाउँ–समुदायले सदासर्वदा सम्झिरहनेछ।

 

मृतकका बुबा महेन्द्र राउत कुर्मीले भावुक हुँदै भने, “पारिवारिक अवस्था कमजोर भएकै कारण छोरा रोजगारीको लागि भारत गएको थियो। आज ऊ छैन तर ऊ हाम्रो गर्व हो, उसको सम्झना कहिल्यै मेटिने छैन।”

पटेलका सानाछोरा–छोरी छन् भने श्रीमती गहिरो आघातमा छिन्। उनका जेठा भाइले पनि भनाइ जोड्दै भने, “भाइ रहरले होइन, बाध्यताले भारत गएको थियो। ऊ तेजिलो र परिश्रमी थियो। उसको सम्झनाले हामीलाई अझै अगाडि बढ्ने प्रेरणा दिनेछ।”

 

उनको पार्थिव शरीर भारतको पटनासम्म विमानमार्ग हुँदै राति ११ बजे ल्याइनेछ । र त्यसपछि एम्बुलेन्समार्फत नेपाल पुर्याइने तयारी भइरहेको छ।

Leave a Reply