कलैया,बाराको कलैयास्थित जिल्ला अस्पतालमा कार्यरत ६ जना चिकित्सकमध्ये ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चारैजना चिकित्सक आइसोलेसनमा हुँदा अस्पतालमा जनशक्तिको अभाव भएको छ । आवश्यक पूर्वाधारसहितको ५० शैया अस्पताल भएपनि संक्रमितहरु उपचारका लागि अन्य जिल्लामा जान बाध्य छन् । अस्पतालमा रहेको पिसआर मेशिन पनि यत्तिकै थन्किएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि जिल्लाको एकमात्र सरकारी अस्पतालमा संक्रमितलाई भर्ना गर्न सकेको छैन ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. गौरव महतोले जनशक्तिको अभावका कारण उपचार गर्न नसकिएको स्वीकार गर्नुभयो । प्राविधिक समस्याका कारण शैयाको व्यवस्थापन गर्न नसकेपनि १५ बेडको व्यवस्थापन गर्ने तयारी भइरहेको महतोले बताउनुभयो । महतोका अनुसार हाल अस्पतालमा १५ वटा अक्सिजन सिलिण्ड रहेको छ । अस्पतालसँग जनशक्तिको कमी भएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको भनाइ छ । सो क्षेत्रका ३५ जना कोरोना संक्रमित वीरगन्जका विभिन्न अस्पतालहरुमा उपचाररत छन् । जिल्लाका ९ सय ९८ जना सक्रिय संक्रमितमध्ये ७ सय २१ जना होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो । बाराको कलैया र जितपुरसिमरा उपमहानगरपालिका, निजगढ, महागढीमाई र सिम्रौनगढ नगरपालिकामा सबैभन्दा बढी संक्रमण फैलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here