नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि जनाउँदै सरकारको प्रवृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन्।
विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर सञ्चारकर्मीलाई पक्राउ गरिएको तथा पक्राउ गर्ने तयारी भइरहेको विषय सार्वजनिक भइरहेका बेला थापाले प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
उनले सरकारका पछिल्ला गतिविधि चिन्ताजनक रहेको उल्लेख गर्दै राज्यका निकायलाई आफ्नो आदेश पालना गर्ने संस्थाका रूपमा बुझ्ने प्रवृत्ति देखिएको बताए।
‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो। प्रवृत्ति चिन्तित नै बनाउने खालको छ,’ उनले भने, ‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो।’
थापाले सरकारले राज्यशक्तिको स्वेच्छाचारी ढंगले प्रयोग गरिरहेको आरोपसमेत लगाए। सरकारको इच्छालाई नै कानुन ठान्ने प्रवृत्ति देखिएको उनको भनाइ छ।
‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ,’ उनले भने, ‘मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो। प्रवृत्तिले हद नाघेको छ।’
सरकारका पछिल्ला गतिविधिले राज्य सञ्चालनको विधि, कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रश्न उठाएको उनको टिप्पणी छ।















