निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहले जंगलमा खेरजाने पतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन शुरु गरेको छ ।डिभिजन वन कार्यालय बाराको लागत साझेदारी कार्यक्रम अन्तर्गत ४ लाख १५ हजार रुपैयमा खरिद गरेको चाप कटर हेबी मेसिन संचालनमा आएपछि समूहले प्राङ्गारिक मल उत्पादन शुरु गरेको हो ।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीवकुमार झाले मेसिन चलाएर उद्घाटन गरेसँगै समूहमा प्राङ्गारिक मल उत्पादन कार्य शुुरु भएको हो ।जंगलमा खेर जाने पतिङ्गर संकलन गरेर मल बनाइने समूहका अध्यक्ष खडकबहादुर मोक्तानले जानकारी दिनुभयो । हाल जंगलबाट झाडी सफाइ गरेर ल्याइएको पतिङ्गर (कच्चा पदार्थ) लाई मेसिनको प्रयोग गरेर कटिङ्ग गर्ने र त्यसपछि गोदाममा राखेर आवश्यक तापक्रम दिएपछि मलको रुपमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

अध्यक्ष मोक्तानले निजगढ नगरपालिकाले उपलब्ध गराउने मल फिट्ने र चाल्ने मेसिन जडान भएपछि मेसिनले पूर्ण क्षमतामा उत्पादन गर्ने बताउनुभयो । नगरपालिकाले समूहको लागि १० लाख रकम बराबरको मेसिन खरिद गर्न टेण्डर गरिसकेको र केही दिनभित्र कार्यालयमा आइपुग्ने बताइएको छ ।

मेसिन सञ्चालनमा आएसँगै वन उपभोक्ता समूहले प्राङ्गारिक मल उत्पादनलाई नियमितरूपमा अघि बढाउने जनाएको छ । जंगलमा खेर जाने झारपात र पतिङ्गरको प्रयोगबाट कृषि कार्यको लागि उपयोगी प्राङ्गारिक मल तयार पारेर उपभोक्ताहरुलाई बिक्री गरिने जनाइएको छ ।

मल उत्पादन शुरु भएपछि फोहर व्यवस्थापन, वातावरण संरक्षणमा टेवा र कृषिजन्य उत्पादन वृद्धि तथा समूहको आय आर्जनमा टेवा पुग्ने समूहका सचिव रामकुमार सिंजालीले विश्वास व्यक्त गर्नुभएको छ ।
मेसिन उद्धाटन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्ला अध्यक्ष रामजी बजगाई, वन अधिकृत शर्मिला नेपाल, डिभिजन वन कार्यालय सिमराका रेञ्जर निरज पोखरेललगायत समूहका पदाधिकारी र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply